कसको हो ?!

तिनै बर-पीपल
जहाँ म
रहरको पिंङ बाँधी मच्चिन्थें

खुसीको आकास छुन्थें कुनै बेला !
चाहानेहरूले भन्थे-
ख्याल गरेस् है सान्नानी, चोट लाग्ला !
नचाहानेहरूले भन्थे-
चिन्तेका बोझहरू धेरै छन
एउटा घटे पनि सुखै हुन्थ्यो बिचरा !
त्यही चौतारोमा आज,
चाहने-नचाहने दुबैको
एउटै आवाज छ:
‘कसको हो, भन् खुरुक्क !
किन बोल्दिनस्, बोल् फटाफट !’
कसको हो खासमा….?!
सर्वस्व सुम्पेको प्रेमीको ?!
विस्वास गरेको नजिकको साथीको ?!
भरोसाको टेको दिलाएको हाकिमको ?!
चकलेट दिएर पुलपुल्याएको छिमेकी अंकलको ?!
ज्ञान दिएर फुर्काएको स्कूलको मास्टरको ?!
वा
जन्म दिएर हुर्काएको आफ्नै बाबुको ?!
बलात्कृत हुँदै गर्दा मेरो अस्तित्व
कहाँ थिए आज प्रश्न सोध्नेहरू सब ?!
लाग्दैछ,
कुन्ती बनी जवाफ फर्काऊँ-
‘कर्ण कसको थियो ?!’
पार्वती बनी प्रश्न तेर्स्याऊँ-
‘गजाधर कसको भयो ?!’
छोडेर मध्यरातमा गौतम हिंडिदिए,
राहुल कसको रह्यो ?!
दिएर यसोदालाई कंश बाट बँचाए,
राधेश्याम कसको भयो ?!
द्रौपदी बनी प्रश्न सोधूँ-
म कसकी हुँ ?!
या
सीता बनी दावी गरुँ-
म धर्तीकी हुँ !!
………
झुकिरहेको शिरलाई जुरुक्क उठाई
सयौं आँखा संग दुई आँखा जुधाई
चिच्याएर भनिदिन्छु एकै सासमा आज-
‘यो मेरो हो, मात्र मेरो !
मैले बोकेको पेट..
कसरी कसैको हुन्छ ?
…मात्र मेरो हो !!’
बरले-पीपलले
बनले-पाखाले
चुलोले-चौकाले
कचहरीले-बैठकले
सुनून सबले मेरो
‘चचहुई’ एकैसाथ !!
म जस्ता हजारौं ‘म’ ले
‘मेरो हो’ भनेर दावी गर्न नसक्नाले
‘बाको नाम आमाले बताइदिन पर्ने’ हरूले
हरेक दिन
चौतारा,अड्डा,अदालत र संसदमा
नागरिकता नामको कागजको आडमा
प्रश्न गरिरहन्छन जननीलाई-
‘भन्, यो कसको हो ?!’
अब देखि
एउटै मात्र जवाफ दिने गर चेली हो-
‘जसले बोक्यो त्यसको हो,
यो भारी मात्र मेरो हो !!’
✍️ हेमन्त गिरी, जापान

सिप / सिर्जना / साहित्यबाट थप समाचार