TRENDING

आजदेखि युनियन लाइफको ६४ करोड ५० लाखको आईपीओ निष्काशन, कति र कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज सर्वसाधारणहरुको लागि धितोपत्रको सार्वजनिक निष्काशन साधारण शेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले कुल जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।

उक्त शेयर कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि आवेदन खुलाएको हो ।

कम्पनीको साधारण शेयरमा सर्वसाधारणले न्यूनतम १० कित्ता देखिअधिकतम ३२ हजार २५० कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट र सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सकिनेछ ।

कम्पनीको साधारण शेयर खरिदका लागि छिटोमा असार २८ गतेसम्म आवेदन दिन सकिने छ । त्यस दिनसम्म माग गरिए भन्दा कम आवेदन परेको खण्डमा भने साउन ७ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने जनाइएको छ । कम्पनीको साधारण शेयरको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ भने प्रत्यभुतकर्तामा नविल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड रहेको छ। हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ५० करोड ५० लाख रुपैयाँ छ। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ।
युनियनल लाइफ इन्स्योरेन्स, कम्पनी ऐन २०६३ अन्तर्गत स्थापना भई बीमा ऐन २०४९, बीमा नियमावली २०४९ बजोजिम जीवन बीमा व्यवसायको कारोबार गर्ने कम्पनी हो। यस कम्पनिले २०७४ असोज ४ गतेदेखि बीमा व्यवसाय सञ्चालन गर्दै आएको हो । कम्पनीको रजिष्टर्ड कार्यालय सिद्धार्थनगर नगरपालिका वडा नं. ८ रुपन्देहीमा रहेको छ भने मुख्य कारोबार कार्यालय काठमाण्डौं नयाँ बानेश्वरमा रहेको छ।

हाल कम्पनीले सातवटा प्रदेश कार्यालयहरु सहित २०५ वटा शाखा तथा उपशाखा कार्यालयहरूबाट सेवा प्रदान गर्दै आइरहेको बताइएको छ।