TRENDING

ट्युनिशिया नजिक डुंगा डुब्दा ४३ प्रवासीको मृत्यु, ८४ जनाको उद्धार

काठमाडौं । लिवियाबाट इटली जाँदै गरेको एक डुंगा ट्युनिशिया नजिक भूमध्य सागरमा दुर्घटनाग्रस्त भएको छ । इन्जिनमा खराबीका कारण भूमध्य सागरमा डुबेको सो डुंगा दुर्घटनामा परि ४३ जना प्रवासीहरुको मृत्यु भएको जनाइएको छ । ट्युनिशियाको रेड क्रिसेन्टले ४३ प्रवासीहरुको मृत्यु भएको र ८४ जनालाई उद्धार गरेको पुष्टि गरेको बीबीसीले जनाएको हो ।

लिबियाको उत्तर पश्चिमी तट जुवाराबाट छुटेको सोडुंगामा इजिप्ट, सुडान र बंगलादेशका नागरिक रहेका थिए । सन् २०१६ को जुन महिनामा पनि भूमध्य सागरमा एक डुंगा डुब्दा ११७ जनाको मृत्यु भएको थियो भने ३४० जनाको उद्धार गरिएको थियो ।

भूमध्य सागर युरोप र अफ्रिकाको बीचमा अवस्थित छ । अफ्रिका र मध्यपूर्वका धेरै नागरिकहरु गरिबी र युद्धका कारण त्यहाँबाट भागेर भूमध्य सागर पार गर्दै युरोपेली देश पुग्ने गरेका छन् ।

विगत केही वर्षयता यो बाटो प्रयोग गर्ने क्रम घटेको थियो । तर सन् २०२१ को सुरुवातदेखि फेरि यो बाटोमा चहल पहल बढेको छ । गत वर्ष ६ हजार सात सय जना भूमध्य सागर पार गर्दै इटली आएका थिए भने यस वर्ष १९ हजार ८ सय पुगिसकेको तथ्यांक सार्वजनिक भएको छ ।