TRENDING

विमानस्थल सञ्चालन गर्न नागरिक उड्डयन प्राधिकरणलाई रु एक करोड

कञ्चनपुर । मझगाउँ विमानस्थल सञ्चालन गर्न भीमदत्त नगरपालिकाले नागरिक उड्डयन प्राधिकरणलाई रु एक करोड रकम उपलब्ध गराएको छ । लामो समयदेखि सो विमानस्थल सञ्चालनमा आउन सकेको छैन । विमानस्थल सञ्चालन र स्तरोन्नति गर्न सङ्घीय, प्रदेश र स्थानीय सरकार बीच भएको त्रिपक्षीय साझेदारी अनुसार नगरपालिकाले सो रकम आइतवार प्राधिरकणका बैंक खातामा जम्मा गरेको हो ।

बाँकी रकम आगामी असोज मसान्तसम्म उपलब्ध गराइने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुष्करप्रसाद भट्टले जानकारी दिनु भयो । विमानस्थल सञ्चालका लागि भौतिक पूर्वाधार निर्माण गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार र स्थानिय तह बीच गत फागुन त्रिपक्षीय सम्झौतामा हस्ताक्षर सम्पन्न भएको थियो ।

सम्झौतामा मन्त्रालयले ५०, सुप प्रदेशले २५ , भीमदत्तले १५ र दोधारा चाँदनी नगरपालिकाले १० प्रतिशत रकम ब्यहोर्ने सहमति भएको थियो । “विमानस्थलका लागि भवन निर्माण, उपकरण जडान, मर्मतसंगै एक हजार छ सय ८५ मिटर रनबे कालोपत्रे गर्ने अगाडी बढाउनका लागि सम्झौता भएको हो” भीमदत्त नगर प्रमुख सुरेन्द्र बिष्टले भन्नुभयो, “विमान स्थलको सुरक्षाका लागि तारवार लगाउने काम पुरा भएको छ । विमानस्थल सञ्चालनका लागि यस अघि सम्भाव्यता अध्ययनसंगै लागत अनुमान पुरा भैसकेको छ ।”

विमानस्थलको रनवे निर्माण गर्नका लागि रु ३७ करोड लाग्ने अनुमान गरिएको छ । रनवेको लम्बाई एक हजार छ सय मिटर हुने बताइएको छ । विसं २०२५ मा निर्माण गरिएको विमानस्थल सशस्त्र द्वन्द्वका कारण विसं २०५५ देखि बन्द अबस्थामा रहेको छ । विमान स्थल सञ्चालन भए पछि यस क्षेत्रको पर्यटन व्यवसाय फस्टाउने अपेक्षा गरिएको छ ।