TRENDING

सामुदायिक वनमा काठ चोरी वृद्धि

टीकापुर । कैलालीका सामुदायिक वनमा काठ चोरीका घटना बढेका छन् । यहाँ लकडाउन भएको ३७ दिन पुगेका छ । लकडाउनको समयमा सबै मानिस घरभित्रै बस्ने भएकाले तस्कर तथा चोरीमा संलग्नहरु वन ताक्न थालेको गुनासो वनकर्मी नै गर्न थालेका छन् ।

यतिबेला सामुदायिक वनमा वन हेरालुले गस्ती गर्न नसकेका कारण काठ चोरीका घटना बढेका छन् । कोरोना सङ्क्रमणका कारण सामुदायिक वन संरक्षणसँगै अन्य गतिविधि गर्न नसकेको सामुदायिक वनका पदाधिकारी बताउँछन् । वन हेरालु दिउँसोका समयमा गस्ती गर्ने भएकाले दिउँसोभन्दा रातिको समयमा सामुदायिक वनमा काठ चोरी भइरहेको उनीहरुको गुनासो छ ।

काठ चोरी गर्नेहरु योजना बनाएर रातिको समयमा आउने भएकाले नियन्त्रणमा समस्या भएको शिवशक्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष प्रेम विश्वकर्माले बताउनुभयो । “रातिको समयमा वनमा काठ चोरीका घटना बढेका छन्, रातिको समयमा गस्ती गर्न समस्या भएको छ”, अध्यक्ष विश्वकर्मा भन्नुहुन्छ, “विपत्ति तथा महामारीको समयमा तस्कर सल्बलाएका छन् ।”

कैलालीको जगतपुर सामुदायिक वनमा केही दिनअघि सयौँ क्युफिट काठ चोरी भयो । तस्करको समूहले सयौँ क्युफिट काठ काटेको सूचना स्थानीयवासीले दिएपछि तस्करले काटेको काठ वन समितिले नियन्त्रणमा लिएर घाटगद्दी गरेको छ । “काठ चोरीबारे अनुसन्धान भइरहेको छ, लकडाउनको मौकामा चोरीका घटना बढेका छन्, सामान्य चोरीका घटना अन्य बेला पनि भइरहन्छन्”, जगतपुर सामुदायिक वनका अध्यक्ष रेशमलाल चौधरीले भन्नुभयो, “संरक्षण समिति र वन हेरालुले नियमित गस्ती गरेका छन्, अब उपभोक्ताको सहयोग लिएर गस्ती थप बढाउने योजनामा छौँ ।”

नियमित सचेतना र नियमित हेरालुको गस्ती गरिरहेको चेतना सामुदायिक वनमा भने अहिले चोरीका घटना नभएका अध्यक्ष बलबहादुर रावलले बताउनुभयो । “हाम्रो वनमा बर्सातको समयमा नदीमा काठ बगाएर चोरी गर्ने सक्रिय हुन्छन्, बर्सातमा वनमा काठ चोरीका घटना बढ्छन्”, अध्यक्ष रावलले भन्नुभयो, ‘‘नदीमा पानीमा काठ बगाएर चोरी गर्नेलाई नियन्त्रण गर्न चुनौती छ, यसबारेमा समेत वन समितिमा छलफल गर्ने भएका छौँ, कोरोना सङ्क्रमण फैलिएपछि सामुदायिक वनका अन्य गतिविधि सञ्चालनमा समेत समस्या भएको छ ।”

त्यस्तै महिला जागृति सामुदायिक वनले बर्सातको समयमा हुने वन कटानी रोक्नका लागि तटबन्ध गर्ने योजना बनाएको थियो । महामारीका कारण तटबन्धको काम गर्न नसेकेको अध्यक्ष चन्दा विकले बताउनुभयो । “यो समयमा गाउँमा मानिस फुर्सदिला भएर वनजङ्गल जान थाल्दा चोरीका घटना बढ्न सक्ने भएकाले हामीले गस्ती बढाएका छौँ”, उहाँले भन्नुभयो, “हाम्रो वनमा सबै महिला भएकाले पनि चोरीका घटना अन्य वनको तुलनामा कम हुन्छन् ।”

लकडाउन भएपछि नागरिक बजारतिर हिँड्न नपाउँदा सामुदायिक वन, नदी तथा खोलातिर जान थालेको सब डिभिजन वन कार्यालय लम्कीका सहायक वन अधिकृत सोमलाल घलान बताउनुहुन्छ । “नागरिकलाई फुर्सद हुँदा दाउरा, तरकारी लगाउन आवश्यक रुखका हाँगा काट्ने बढेका छन्”, सहायक वन अधिकृत घलान भन्नुहुन्छ, “दाउरा सङ्कलन र साग टिप्ने बहानामा यतिखेर वनमा चोरी तस्करी बढ्यो भन्ने गुनासो बढेको छ, वन कार्यालयमा उजूरी भने आएका छैनन्, सामान्य काठदाउरा चोरीमा संलग्नलाई सामुदायिक वन आफैँले कारबाही गरिरहेका छन् ।”

सहायक वन अधिकृत घलान आफूहरुले नियमित गस्ती गरिरहेको बताउनुहुन्छ । “यो समयमा सामुदायिक वनलाई पनि सामाजिक दूरी कायम गरेर गस्ती बढाउन भनेका छौँ”, उहाँ भन्नुहुन्छ, “यस्तो जोखिमका समयमा तस्कर तथा आपराधिक मानसिकता भएकाहरु वन मास्ने योजना बनाउन सक्छन् भनी सतर्कता अपनाउन भनेका छौँ ।”

कैलालीमा ५७६ सामुदायिक वन छन् । त्यसमध्ये ६४ वन महिलाले नेतृत्व गरेका छन् । अझै झण्डै १५० सामुदायिक वन प्रस्तावित अवस्थामा छन् । महिलाले नेतृत्व गरेका वनको तुलनामा पुरुषले नेतृत्व गरेका वनमा चोरीका घटना बढेका छन् । वनको स्रोत र कोष परिचालनमार्फत सामाजिक विकासका क्षेत्रमा समेत सामुदायिक वनको भूमिका महत्वपूर्ण रहेको छ ।