TRENDING

टीकापुर अस्पतालमा सङ्क्रमितको सफल प्रसूति सेवा

टीकापुर । टीकापुर अस्पतालमा कोरोना सङ्क्रमित महिलालाई प्रसूति सेवा दिइएको छ । सुत्केरी ब्यथा लागेर अस्पताल आएकी एक महिलालाई अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षित तवरले सेवा दिएका हुन् । दश दिनअघि अस्पतालमा बच्चा जन्माएकी महिलाको शिशुमा समेत स्वास्थ्य समस्या देखिएको थियो तर बच्चाको कोरोना परीक्षण गर्दा सङ्क्रमित थिएन । टीकापुर अस्पतालमा कोरोना सङ्क्रमितलाई सुत्केरी सेवा दिन छुट्टै प्रसूति कक्ष तयार छैन ।

तर महिलालाई व्यथा लागेर आएकाले अस्पतालले छुट्टै राखेर सेवा दिएको कोरोना फोकल पर्सन डाक्टर रमेश उपाध्याय बताउनुहुन्छ । ‘‘अस्पतालमा छुट्टै सङ्क्रमित महिलालाई प्रसूति सेवा दिनका लागि बेग्लै कक्ष छैन, यस्तो समस्या पनि आएको थिएन । ती महिला चाँही सङ्क्रमित हुनुहुदो रहेछ, व्यथा लागिसकेको थियो’’, डाक्टर उपाध्यायले भन्नुभयो, ‘‘उहाँ बाहिर जाने अवस्था पनि थिएन, सुरक्षित तवरले उहाँलाई छुट्टै राखेर सेवा दियौँ । अस्पतालको टिम उहाँ र उहाँको बच्चा कसरी जोगाउने भन्नेमा केन्द्रीत रह्यो ।’’

सुत्केरीपछि बच्चामा स्वास्थ्य समस्या देखिएको थियो । बच्चा जन्मेको केही समयमा श्वासप्रश्वास र मुटुको गतीमा समस्या भएपछि चिकित्सकले कृत्रिम श्वासप्रश्वास दिइ उपचार गरेको थियो । जटिल अवस्था र आइसियु आवश्यक परेको बच्चालाई अस्पतालका बालरोग विशेषज्ञ डाक्टर अमरनाथ ठाकुर लगायतको टिमले बचाउन सफल भएका छन् । ‘‘बच्चा जन्मेको केही समयमा बच्चाको श्वासप्रश्वास र मुटुको गती नचलेपछि हामीले कृत्रिम श्वासप्रश्वास दियौँ, अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको टिम बच्चा कसरी जोगाउने भन्ने प्रयासमा रह्यौँ’’, डाक्टर ठाकुर भन्नुहुन्छ, “बच्चालाई आइसियु आवश्यक थियो । हामीकहाँ आइसियु तथा भेण्टिलेटर नभएकाले बच्चा बाहिर लैजानु आवश्यक थियो । बच्चाका आफन्तले लैजान नसक्ने भनेपछि हामीले सक्दो प्रयास ग¥यौँ, ४ घण्टापछि बच्चाले सास फे¥यो ।’’ डाक्टर ठाकुर बच्चा स्वस्थ भएपछि जीवनको सबैभन्दा ठूलो खुशी प्राप्त भएको बताउनुहुन्छ । करिव एक साता अस्पतालमा उपचारपछि आमा र बच्चा स्वस्थ भएर डिस्चार्ज भएका छन् ।

कैलालीको टीकापुरमा रहेको यो अस्पतालमा कैलालीमात्र नभइ बर्दियाको राजापुर नगरपालिकाका नागरिक पनि सेवा लिन आउने गर्दछन् । अस्पतालमा दैनिक ४०० देखि ५०० जनासम्म बिरामीले सेवा लिन्छन् । कोरोना महामारीपछि सङ्क्रमितको उपचार गरिरहेको असपतालले अहिलेसम्म उपचारपछि १३३ जनालाई डिस्चार्ज गरेको छ । अस्पतालमा अहिले पनि १७ जना बिरामीको उपचार भइरहेकोमा ११ जना एचडियूमा, २ कोरोना जनरल वार्डमा र ४ जनालाई अक्सिजन सहित चिकित्सकको निगरानीमा राखेर उपचार भइरहेको डाक्टर उपाध्यायले बताउनुभयो ।

अस्पतालमा अबको केही दिनमा एनेस्थेसियोलोजिष्ट विशेषज्ञ सेवा समेत शुरु हुने भएको छ । कैलालीको जानकी गाउँपालिकाले एनेस्थेसियोलोजिष्ट विशेषज्ञको तलब खर्च बेहोर्ने भएपछि अब सो सेवा उपलब्ध हुने भएको हो । अस्पतालले यही जेठ १८ गते डाक्टर सुवोध वाग्ले (काठमाडौं) लाई छनोट गरेको टीकापुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रेमकुमार राईले जानकारी दिनुभयो । छनोट भएका डाक्टर कार्यालयमा उपस्थित भएपछि सेवा शुरु हुनेछ । अस्पतालमा रहेका सात वटा भेन्टिलेटर, एनआइसीयु तयारी अवस्थामा भए पनि एनेस्थेसियोलोजिष्ट नहुँदा सञ्चालनमा आउन सकेको छैन । यस्तै अस्पतालमा वरिष्ठ कन्सल्टेण्ट अर्थोपेडिक सर्जन सेवारत भए पनि बेहोस पारेर शल्यक्रिया गर्नुपर्ने बिरामीलाई बाहिर रेफर गर्नु परिरहेको वाध्यता अब अन्त्य हुने भएको छ ।