TRENDING

बेनी–जोमसोम सडक कालोपत्र शुरु

म्याग्दी । यहाँको उत्तरी क्षेत्र हँुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक कालोपत्र शुरु भएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत पहिलो र तेस्रो प्याकेजमा कालोपत्र शुरु गरिएको हो । पहिलो प्याकेजअन्तर्गत जिल्लाको राहुघाटदेखि बेगखोलासम्मको छ किलोमिटर र मुस्ताङको थासाङ गाउँपालिकाको खन्तीदेखि कैकुखोलासम्मको १६।५ किलोमिटर सडक कालोपत्र शुरु गरिएको छ ।

प्रवेश विन्दुमा पर्ने बेनी नगरपालिका–९ गलेश्वरमा करीब एक किलोमिटर र चौथो नम्बर प्याकेजमा पर्ने कोवाङदेखि जोमसोमसम्मको १८ किलोमिटर सडक पनि कालोपत्र गर्न लागिएको आयोजनाका इन्जिनीयर आषिश मानन्धरले बताउनुभयो । “बेनी घाँसा खण्डको दुई प्याकेजमा डिबिएसडी र घाँसा जोमसोम खण्डको दुई प्याकेजमा असपाल्ट प्रविधिको कालोपत्र हँुदैछ”, उहाँले भन्नुभयो, “११ मिटर फराकिलो बनाइएको सडकको सातदेखि आठ मिटर चौडाइमा कालोपत्र हुन्छ ।”

सोह दशमलव पाँच किलोमिटर दूरीको दोस्रोअन्तर्गत म्याग्दी र मुस्ताङको सिमानामा रहेको काभ्रे, बादरजुङ र घोप्टेभिर तथा पहिरो प्रभावित रुप्से क्षेत्रबाहेकका स्थानमा सडक स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । पहिलो प्याकेजको बेगखोला–जलथले खण्डमा भने ढिलाइ भएको छ । पहिलो प्याकेजको राहुघाट–बेगखोला खण्डको सहायक ठेकेदार ओमकारेश्वर कन्सट्रक्शनका प्रतिनिधि अमृत दाहालले प्राइम कोड हालेर कालोपत्रको काम शुरु गरेको बताउनुभयो ।

“मौसमले साथ दियो भने गलेश्वरदेखि बेगखोलासम्मको छ किलोमिटर सडक जेठ महिनाभित्र कालोपत्र सक्ने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “सडक विस्तार, नाली र पर्खाल निर्माण सकेर सब बेस बिछ्याउने र रोलरले पेलिएको खण्डमा कालोपत्र गर्न लागिएको हो ।” कोरोना महामारीको जोखिम र निषेधाज्ञाका बाबजुद स्थानीय प्रशासन, बेनी–जोमसोम–कोरला सडक आयोजना र स्थानीय पालिकासँग समन्वय गरेर मजदूर, उपकरण र निर्माण सामग्री जुटाएर आयोजनालाई निरन्तरता दिइएको दाहालले बताउनुभयो ।

विसं २०७४ साउनदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ । करीब रु छ अर्ब लागतको यस आयोजनाको ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको ८८ र बेनी–जोमसोम खण्डको ६५ प्रतिशत भौतिक प्रगति छ । सात प्याकेजको जोमसोम–कोरला खण्डको चार प्याकेजको काम निर्माण सकिएको आयोजनाका सूचना अधिकारी आश्विनीकुमार यादवले बताउनुभयो ।

विसं २०६४ मा नेपाली सेनाले ट्र्याक खोलेर विसं २०६७ मा सडक विभागलाई हस्तान्तरण गरेको बेनी– जोमसोम सडक कच्ची र जीर्ण थियो । कच्ची र साँघुरो सडकमा हिउँदमा धुलाम्मे तथा वर्षामा हिलाम्मे हुने समस्या थियो । बेनी–जोमसोमको चार प्याकेज ९भाग०मा छुट्टाछुट्टै निर्माण कम्पनीसँग रु दुई अर्ब ५० करोडमा ठेक्का सम्झौता भएको थियो । रु तीन अर्ब ४० करोड लागत अनुमान गरिएको थियो । बेनी–घाँसा खण्डका दुई प्याकेज र घाँसा जोमसोम खण्डको एउटा प्याकेजको कामको ठेक्का शर्मा/युनाइटेड जेभीले लिएको थियो ।

विसं २०७६ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि ढिलासुस्तीले काम प्रभावित भएको हो । यो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको छ । सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने मुस्ताङबाट निर्वाचित निवर्तमान प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताउनुभयो ।

कोरला नाका सञ्चालन गर्ने वातावरण बन्ने, आन्तरिक तथा बाह्य पर्यटक एवं तीर्थयात्रीको आगमन बढ्ने, स्थानीयवासीलाई सुविधा पुग्ने, कालीगण्डकी र आसपासका नदीमा जलविद्युत्को विकास हुने अपेक्षा गरिएको छ ।