TRENDING

निषेधाज्ञामा पुष्पलाल मध्यपहाडी लोकमार्गको काम तीब्र

काठमाडौं । पुष्पलाल मध्यपहाडी राजमार्ग अन्तर्गत लोहोरे देखि सदरमुकाम दैलेख बजार खण्डको १० किलोमिटर सडकको काम तीब्र पारिएको छ । दैलेखमा दुई साता देखि निषेधाज्ञा लागू गरिएको भए पनि विकास निर्माणका ठूला आयोजनाका काम भने निरन्तर सञ्चालनमा छन् ।

जिल्लाको भाग्य र भविष्यसँग जोडिएको यस राजमार्ग निर्माणका लागि सामाजिक दूरी कायम गरेर सुरक्षित रूपमा काम सञ्चालन गर्न स्थानीय प्रशासनले निर्माण कम्पनीलाई आग्रह गरेको छ । लामो समयदेखि बन्द भएको सडक निर्माणको काम धमाधम शुरु हुन थालेपछि जिल्लावासी निकै खुसी देखिएका छन् । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको यस लोकमार्गले गति लिएपछि धेरै रोजगारी अवसरहरु सिर्जना भएका छन् ।

मध्यपहाडी राजमार्ग दैलेख हुँदै जान थालेपछि बस्ती नभएका ठाउँमा बजारको विस्तार हुँदै गएको छ । स्थानीय कृषिजन्य वस्तुले बजार पाउन थालेका छन् । दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज भएको छ । बाटोको सहज पहुँचले स्थानीय स्तरमा पर्यटन विकाससँगै ओझेलमा परेका पुराना सम्पदाहरु, तालतलैया एवम् स्थानीयस्तरमा बजारीकरणको विकास हुने निश्चित छ ।

दैलेख उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलबहादुर बिकले जानकारी दिनुभयो । मध्यपहाडी राजमार्ग सञ्चालन भए दैलेखको मुहार परिवर्तन हुने, आन्तरिक र बाह्य पर्यटन प्रर्वद्धन हुने र व्यापार व्यवसाय बढ्ने बिकले बताउनुभयो । शर्मा हिमाल निर्माण कम्पनीले जिम्मा लिएको लोहोरे–दैलेख १० किलोमिटर सडक विसं २०७९ सम्म कालोपत्रे गरिसक्नुपर्ने सम्झौता छ । यही जेठ महिनाभित्र सडकको पर्खाल निर्माण, ग्याबिन निर्माण र नाली व्यवस्थापनसँगै कालोपत्रेका लागि सडक ग्राभेल गर्ने गरी काम तीव्र पारिएको निर्माण कम्पनीका शम्भु ठकुरीले जानकारी दिनुभयो ।

प्रजिअको पहलमा विकासले लियो गति

हालका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल केही वर्षअघि स्थानीय विकास अधिकारीको रूपमा जिल्ला विकास समितिमा आएको बेलामा विवाद समाधानका धेरै कुराहरु अघि बढेका थिए । विशेष गरेर किमुगाउँ, रामपुर हुँदै सेनाक्याम्प र भूर्तीमा देखिएका समस्या समाधानमा जिल्लाका व्यापारी, राजनीतिक दललगायतले एकमत जाहेर गरेर न्यूनतम १० मिटर सडक दिने समझदारी कायम भएको थियो । काम गर्दा गर्दै प्याकुरेलको सरुवा भयो । सडक निर्माणको बोलपत्र खोलिए पनि काम हुन सकेको थिएन प्याकुरेल पुनः प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेर जिल्ला आउनेबित्तिकै कामले गति लिएको स्थानीयवासी बताउँछन् ।

जिल्लाका ठूला विकास निर्माणको महत्वपूर्ण आयोजनाको काम यो वा त्यो बहानामा रोक्न नपाइने भन्दै आम नागरिक, स्थानीय पालिका सबैसँग समन्वय गरेर अहिले काम शुरु भएको प्याकुरेलले जानकारी दिनुभयो । जिल्लाको मुहार परिवर्तन गर्ने गौरवको मध्यपहाडी राजमार्ग आयोजना जिल्ला सदरमुकाम गएपछि निराश बनेका जिल्लावासीमा हर्षित भएका छन् ।

आयोजनाद्वारा अनुगमन तीब्र

पुष्पलाल मध्यपहाडी राजमार्ग निर्माणको आयोजना कार्यालय पनि दैलेखमै स्थापना भएको छ । जिल्लामै कार्यालय भएका कारण आयोजनाले अनुगमनलाई तीव्र पारेको छ । समस्या भएका स्थानहरूमा तत्काल आफूहरू पुगेर समस्या समाधानका लागि पहल गरेको आयोजनाका प्रमुख अर्जुन वमले जानकारी दिनुभयो । स्थानीय प्रशासन, राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, नागरिक समाज सबैको सहयोगले सडक निर्माणमा सहजता भएको वमले बताउनुभयो ।
जिल्लाभर १२५ किलोमिटर मध्यपहाडी राजमार्ग पर्दछ । त्यसमध्ये करीब १८ किलोमिटर सडक कालोपत्रे भैसकेको छ । बाँकी स्थानमा धमाधम काम सुरु गरिएको वमको जानकारी दिनुभयो । विभिन्न खण्डमा कामको जिम्मेवारी लिएका १० वटा निर्माण कम्पनीमार्फत करीब रु चार अर्बको ठेक्का स्वीकृतसँगै कामलाई तीव्र पारिएको छ ।