TRENDING

व्यानपामा कृषि, पर्यटन र पूर्वाधारमा उल्लेख्य प्रगति

दमौली । तनहुँको व्यास नगरपालिकाले जनप्रतिनिधि आएपछि कृषि, पर्यटन र पूर्वाधारमा उल्लेख्य प्रगति हासिल गरेको जनाएको छ । विसं २०७४ वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएपछि नगरपालिकाले यस अवधिमा उक्त क्षेत्रमा प्रगति हासिल गरेको जनाइएको हो ।

चार वर्षको अवधिमा नगरवासीको माग र अपेक्षा बमोजिमका विकास निर्माण काम गर्न सफल भएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । “नगरवासीको मूल्याङ्कन र धारणालाई हामीले गरेको कार्यको कसीका रुपमा लिएर बाँकी दश महिनाको कार्यअवधिमा समेत नगरवासीको सकारात्मक सुझाव र सहयोग अपेक्षा गरिएको छ”, नगरप्रमुख न्यौपानेले बताउनुभयो ।

स्थानीय तहमा जनप्रतिनिधि आउनुअघि रु चार करोड ५० लाख आन्तरिक आय रहेको नगरपालिकाको यस वर्ष आन्तरिक आय बढेर रु २० करोड पुगेको छ । नगरप्रमुख न्यौपानेका अनुसार विकास निर्माणका पूर्वाधारहरु सडक, खानेपानी, वडा कार्यालय, स्वास्थ्य भवनहरु निर्माण, सेवा विस्तार, कृषि, पर्यटन र शैक्षिक क्षेत्र सुधारका लागि वडागत, नगरस्तरीय, प्रदेश र सङ्घ स्तरीय बजेट परिचालन गरिएको छ ।

चार वर्षको अवधिमा मानुङकोटको पर्यटन विकास, व्यास पराशर क्षेत्रको विकास (१०८ फुट मूर्ति निर्माण), मादी नदी एकिकृत विकास परियोजना, नारेश्वर ताल निर्माण, खड्गकाली मार्ग निर्माण, नगरपालिकाको बहुउद्देश्यीय भवन निर्माण, विश्व बैङ्कको लगानीका शहरी पूर्वाधार शासकीय सुधारका कार्यहरुका लागि सम्झौता, फोहरमैला व्यवस्थापन गर्ने लगायतका महत्वपूर्ण कार्यको थालनी भएको न्यौपानेले बताउनुभयो ।

सडक निर्माणतर्फ कालोपत्रे सडक निर्माण १६.८०, ग्राभेल सडक ४८.६८, कच्ची सडक ९८.४९ तथा पक्की नाला ३६.९० किलो मिटर निर्माण सम्पन्न भएको छ । शिक्षातर्फ सत्यवती र निर्मल नमूना विद्यालय योजना कार्यान्वयनमा सहजीकरण, माध्यमिक विद्यालयहरुमा इ हाजिरीको व्यवस्था, विद्यालय भवनको कोठा थप निर्माण एवं मर्मत, दश विद्यालयमा पुस्तकालयको व्यवस्था, नौ विद्यालयमा विज्ञान प्रयोगशालाको व्यवस्था, ५४ वटा विज्ञान, अङ्ग्रेजी र गणित सम्बन्धी किट्स खरिद, विद्यालयहरु विद्यार्थी अनुपातलाई आधार मानी गाभिएको छ भने दरबन्दी नभएका माविहरुमा केही दरबन्दीको व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।

वातावरण तथा सरसफाईतर्फ कुहिने फोहोरबाट मल उत्पादन कार्यको थालनी, नकुहिने फोहोरलाई व्यास १ भतेरीमा व्यक्तिको जग्गा लिई व्यवस्थापन, व्यास ४ र १० मा फोहोर मैलाको दीर्घकालीन व्यवस्थापनका लागि वातावरणीय अध्ययनको कार्य सम्पन्न, सडक किनारा, सार्वजनिक स्थल आदिमा जिल्ला वन कार्यालयसँग सहकार्य एवं समन्वयमा विभिन्न प्रजातिका रुख विरुवाहरु वृक्षरोपण कार्य गरिएको नगरपालिकाले जनाएको छ ।

विद्युततर्फ काठेपोल विस्थापन कार्यक्रम सञ्चालन, विद्युत विस्तारका लागि व्यवस्थापन, उपभोक्ताले नै विद्युत महशुल तिर्ने गरी सडक बत्ती विस्तार, खानेपानीतर्फ एक घर एक धारा निर्माण अभियानलाई तीव्रता, डिप बोरिङ र लिफ्ट प्रणालीबाट खानेपानी विस्तार गरिएको छ भने ९० प्रतिशत नगरबासीमा सहज खानेपानी आपूर्ति गरिएको छ ।

स्वास्थ्यतर्फ वडा नं १,२,४,५,७,१० मा आधारभूत स्वास्थ्य केन्द्र भवन, खोप केन्द्र भवन निर्माण, शिशाघाट, बेलटारी, छिर्कनेमा स्वास्थ्य सेवा केन्द्र सञ्चालन, स्वास्थ्यचौकी, शहरी स्वास्थ्य केन्द्र भवन निर्माण, स्वास्थ्य संस्थामा जनशक्तिको पूर्ण रुपमा व्यवस्थापन गरिएको, आँखा शिविर अन्तर्गत ६० वर्ष माथिका ७७२ ज्येष्ठ नागरिकको निःशुल्क रुपमा आँखा जाँच गरी ४९ जनाको शल्यक्रिया गरिएको नगरपालिकाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

कृषि विकास कार्यक्रमतर्फ अर्गानिक तरकारी उत्पादनका लागि बिउ वितरण र तरकारी सङ्कलन केन्द्र निर्माण, हाट बजार सञ्चालनका लागि व्यास ३ मा १० कोठाको किसान बजार निर्माणाधिन, कृषि समूहलाई ८० प्रतिशत अनुदानमा २ ठूला ट्याक्टर खरिद, ५० प्रतिशत अनुदानमा ४५ वटा हाते ट्याक्टर खरिद एवं कृषकलाई वितरण, फलामे हलो वितरण, आलुको बीउ उत्पादनको लागि आलु प्रबद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ ।

पशु विकास कार्यक्रमतर्फ सहकारी मार्फत दुध उत्पादन बजारीकरणमा आधारित अनुदान प्रति लिटर रु एक कार्यक्रम सञ्चालन, सहकारी मार्फत खसी/बोका उत्पादन बिक्रीमा आधारित कार्यक्रम प्रति के.जी रु दश अनुदान, व्यास ३ मा पशु बधस्थल निर्माण सम्पन्न भएका छन् ।

सहकारीतर्फ नगरपालिकामा रहेको विभिन्न टोल विकास संस्थाहरुमा छरिएर रहेको पूँजीलाई एकत्रित गरी एउटै छहारीमुनी रहने गरी गाउँनगर सहकारी बचत तथा ऋण सहकारी संस्था गठन गरीएको तथा अन्य सहकारीहरुको अनुगमन र नियमन गरिएको छ । त्यस्तै साझेदारी कोषको टोल विकास संस्था मार्फत ऋण लगानीमा निरन्तरता दिइएको छ भने उद्योग तथा पर्यटनतर्फ स्लेट ढुङ्गा, इटा उद्योगलाई व्यवस्थित रुपमा सञ्चालनका लागि कानुन निर्माण एवं कायान्वयन र नगरपालिका क्षेत्रभित्रका ९ वटा होमस्टेहरुको पूर्वाधार निर्माण एवं आवश्यक तालिम प्रदान गरिएको छ ।

त्यस्तै एकीकृत पर्यटकीय गुरु योजना, पर्यटकीय क्षेत्र समेट्ने गरी वृत्तचित्र तथा व्रोसर, मानुङकोट पदमार्ग एवं पूर्वाधार, पुलिमराङ शहीद पार्क निर्माण, कालिका जङ्गल पार्क निर्माणमा सहयोग, तनहुँसुर दरवार निर्माण एवं मर्मतमा सहयोग, गलेखामकोट भ्यूटावर निर्माण, व्यासको १०८ फिट अग्लो मूर्ति निर्माण कार्यको थालनी, दमौली सेन्टर पार्क निर्माण थालनी, कर्लुङकोट कालिका मन्दिर र छाब्दी पर्यटन मार्ग निर्माण भएका छन् ।

खेलकूदतर्फ मानुङकोटदेखि पुलिमराङसम्म अल्ट्रा म्याराथन प्रतियोगिता सञ्चालन, व्यास गुफादेखि तनहुँसुर दरबारसम्म महिला खुल्ला हाफ् म्याराथन प्रतियोगिता सञ्चालन, राष्ट्रपति रनिङ खेलकुद प्रतियोगिता सञ्चालन, अन्तर माध्यमिक विद्यालय मेयरकप छात्र फुटबल प्रतियोगिता, अन्तर माध्यमिक विद्यालय उपमेयरकप छात्रा फुटबल प्रतियोगिता सम्पन्न भएका छन् ।

सूचना तथा सञ्चारतर्फ सबै वडा कार्यालयमा इन्टरनेट सेवा जडान, सेवा प्रवाहको जानकारीका लागि डिजिटल नागरिक वडापत्र स्थापना एवं सञ्चालन, कर्मचारीहरुको दैनिक उपस्थिति नियमन गर्न ई–हाजिरीको व्यवस्था, हरेक वडा कार्यालयमा अडियो नोटिस वोर्ड स्थापना एवं सञ्चालन, नगरपालिकाको मोबाइल एप्लिकेशन सञ्चालन, हस्तलिखित घटना दर्ता सम्बन्धी दस्तावेजहरु कम्प्युटरकृत गर्न शुरुआत् गरिएको छ ।

कानुन न्यायतर्फ १९ ऐन, ८ नियमावली, ४० कार्यविधि, ६ निर्देशिका र ३ अन्य गरी ७६ वटा कानुन निर्माण गरिएको, न्यायिक समितिमार्फत उजुरीहरुको फैसला गर्ने गरिएको र वडामा मेलमिलाप केन्द्रको स्थापना गरिएको नगरपालिकाले जनाएको छ ।

यस्तै नगरपालिका बहुउद्देश्यीय प्रशासनिक भवन, नगरसभा हल, वडा नं.१,२,४, ५, ७, ९, १०,११ को वडा कार्यालय भवन निर्माण, वडा पहूँच मार्ग निर्माण अन्तर्गत पिच बाटो निर्माण एवं मर्मत, शहरी सौन्दर्य अन्तर्गत अनसन चौतारी लगायत मुख्य शहरी वडाहरुको चोक सुधार एवं निर्माण सम्पन्न भएका छन् ।

नगरपालिकाले यस अवधिमा दमौली सेन्टर पार्क अनसन चौतारी, चिन्तुटार रङ्गशाला, नारेश्वर ताल, १०८ फिट व्यासको मूर्ति निर्माण, एकीकृत मादी नदी विकास परियोजना, कमरेपानी खानेपानी योजना, ठिन हर्कपुर खानेपानी योजना लगायतका योजनाको गुरुयोजना तथा डिपिआर तयार गरेको छ ।

नगरपालिकाले एकीकृत मादीनदी विकास परियोजना गुरु योजना निर्माण एवं कार्यान्वयन, नारेश्वर ताल निर्माण, एकीकृत जग्गा विकास कार्यक्रम, मानुङकोट पर्यटकीय विकास कार्यक्रम, तनहुँसुर ऐतिहासिक पर्यटकीय कार्यक्रम, सहिद पार्क कालिका जङ्गलपार्क निर्माण, मासु तथा दुधमा आत्मनिर्भर कार्यक्रम लगायतलाई भावी कार्ययोजनाको रुपमा अगाडि सारेको छ ।