TRENDING

बसन्त चौधरीले पाउने भए प्रतिष्ठित साहित्यक अवार्ड

काठमाडौं । नई प्रकाशनले साहित्य क्षेत्रकै प्रतिष्ठित ‘नई ईश्वरवल्लभ अवार्ड’ यो वर्ष कवि तथा साहित्यकार बसन्तकुमार चौधरीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
नई प्रकाशन संचालक समितिका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले यो वर्षका लागि ‘नई ईश्वरवल्लभ अवार्ड’ चर्चित कवि चौधरीप्रति समर्पित गर्ने निर्णय गरेको हो ।

विश्व काव्ययात्रा मार्फत नेपाली भाषा र साहित्यको विश्वमाझ प्रवद्र्धनका लागि महत्वपूर्ण योगदान दिएका कारण चौधरीलाई प्रतिष्ठित अवार्ड प्रदान गर्ने निर्णय भएको नई प्रकाशनले जनाएको छ । चौधरीले पाउने पुरस्कार रु. १ लाख राशिको हो । यसअघि नई प्रकाशनले बैशाख ३० गते काठमाण्डौमा आयोजना गर्न लागेको नई प्रकाशनको रजतजयन्ती तथा शताब्दी पुरुष सत्यमोहन जोशीको १०२ औं जन्मोत्सवको अवसरमा साहित्यकार चौधरीलाई पुरस्कृत गर्ने योजना बनाएको थियो । तर, कोभिड संक्रमणका कारण पुरस्कार वितरण गर्ने कार्यक्रम केही पछि धकेलिएको नई प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभएको छ ।

नेपालका कवि, साहित्यिक पत्रकार र नेपाली भाषा तथा साहित्यमा विशिष्ट योगदान गर्नेहरुलाई यस्तो अवार्ड प्रदान हुँदै आएको छ । नई प्रकाशन २०५२ सालमा स्थापना भएको थियो ।  चर्चित कवि तथा साहित्यिक पत्रकार ईश्वर बल्लभको निधन भएपछिका वर्षदेखि उहाँको नाममा अवार्ड वितरण गर्न थालिएको थियो ।
प्रत्येक वर्ष प्रदान गरिने यो विधातर्फको अवार्ड यसअघि जयदेव भट्टराई, प्रकट पगेनी शिव, विश्वविमोहन श्रेष्ठ, प्रदीप नेपाल, विजय चालिसे, सञ्जय राई, कञ्चन पूडासैनी लगायतले पाउनुभएको थियो ।

चौधरीले केही वर्षअघिदेखि सुरु गरेको विश्व काव्ययात्रा विश्वभर चर्चित भएको थियो । सन् २०१२ को अगस्टदेखि अमेरिकाको न्यूयोर्कबाट सुरु भएको उहाँको विश्व काव्ययात्रा ११ वटा देशको २० वटा शहरसम्म पुगेको थियो । गत वर्ष कोरोनाको संक्रमण बढेपछि उहाँको काव्ययात्रा स्थगित गरिएको छ ।

नई प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले सरकार वा सरकारी निकायको कुनै सहयोगबिना एक्लो प्रयासमा नेपाली कविता र साहित्यलाई विश्वमाझ चिनाउने उद्देश्यले विश्व कविता यात्रा गर्ने चौधरी देशकै एक्लो र पहिलो नेपाली कवि रहेको बताउनुभयो । ‘उहाँको एक्लो प्रयासले संचालन गर्नुभएको विश्व काव्ययात्राका कारण नेपाली साहित्यको इज्जत विश्वमै माथि पुर्याउने काम भएको र नेपाली साहित्यको गरिमा समेत श्रीवृद्धि भएकोमा उहाँलाई सम्मान गर्ने निर्णय गरेका हौं ।’–प्रसाईले भन्नुभयो ।

बसन्त चौधरी गीतकार, कवि, स्तम्भकार वा प्रबन्धकारको रुपमा नेपाली साहित्यको क्षेत्रमा परिचित नाम हो । उहाँका नेपाली भाषाका आधादर्जन बढी कविता संग्रह, अन्य विभिन्न भाषामा समेत कविता तथा गीति संग्रह प्रकाशित भइसकेका छन् । उहाँका हालसम्म आधा दर्जन बढी नेपाली भाषाका र दुईवटा हिन्दी भाषाका गीति एल्बम समेत प्रकाशन भइसकेका छन् । उहाँले दर्जनौ कृतिहरु प्रकाशनमा सहजीकरण र सहयोग गरिसक्नु भएको छ । ‘तिमीबिनाको म’ नामको नेपाली भाषाको कविता संग्रह र अनेक पल और मैं नामको हिन्दी कविता संग्रह उहाँका प्रकाशोन्मुख कृति हुन् ।