TRENDING

राइनासकोट पर्यटन महोत्सव शुरु

काठमाडौं । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यहाँ राइनासकोट पर्यटन महोत्सव शुरु गरिएको छ । तीनदिन सञ्चालन हुन लागेको महोत्सव ‘ग्रामीण संस्कृति जोगाउ हाम्रो नारा ! खेलकूद विकास गरौँ’ भन्ने नाराका साथ राइनास नगरपालिका–९ मा राइनासकोट सामुदायिक घरवास समितिको आयोजनामा शुरु भएको हो ।

नगर प्रमुख सिंहबहादुर थापाले महोत्सवका माध्यमबाट देशविदेशमा प्रचारप्रसार हुने र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । राइनासकोटलाई नगरपालिकाले पर्यटकीय गन्तव्यका रुपमा प्रवद्र्धन गर्दै आएको उहाँको भनाइ छ । वडा नं ९ का वडाध्यक्ष देवबहादुर थापाले यस्ता महोत्सवले पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने भएकाले बेलाबेला जिल्लाका विभिन्न गाउँमा समेत आयोजना हुनलाई जरुरी रहेको बताउनुभयो । महोत्सवका आयोजक राइनासकोट सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष खड्कबहादुर गुरुङले पहिलो पटक महोत्सव सञ्चालन गरेर गाउँमा पर्यटक भित्र्याउनका लागि गरिएको बताउनुभयो ।

कोरोना सङ्क्रमणपछि पर्यटकको सङ्ख्यामा कमी भएकाले पर्यटक भित्र्याउनका लागि महोत्सव सञ्चालनले मद्दत पुग्ने आयोजकको अपेक्षा रहेको छ । बिहीबारदेखि शुरु भएको महोत्सवमा लोकदोहोरी तथा लोक गायक राजु परियार, सरिता दर्नान, प्रशान्त तमाङ, रितु थापा, सुवास छितिज कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सवमा १२ कक्ष राखिएका छन् । महोत्सवमा विभिन्न स्थानबाट अवलोकनका लागि सयौँको सङ्ख्यामा उपस्थित भएका छन् । त्यस्तै राइनासकोट पर्यटन कप सञ्चालन हुने भएको छ । उक्त समितिको आयोजनामा यहाँ आजदेखि पुरुष तथा महिलाका लागि भलिबल प्रतियोगिता सञ्चालन हुन लागेको छ । प्रतियोगितामा पुरुष भलिबलतर्फ विजयी टोलीले रु एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुने टोलीले रु ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै तृतीय हुने टोलीले रु ३० हजार, मेडल र प्रमाणपत्र तथा शान्त्वना हुने टोलीले रु २० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै महिलातर्फ प्रथम टोलीले रु २५ हजार, मेडल र प्रमाणपत्र तथा द्वितीय पुरस्कार रु १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने सो समितिका अध्यक्ष गुरुङको भनाइ छ ।

यस गाउँमा १७ घरमा घरवास सञ्चालनमा छन् । घरवासबाट एकै पटकमा अन्नपूर्ण, माछापुच्छे«, मनास्लु, बौद्ध, गणेश हिमाललगायतको १८ हिमाल देख्न सकिन्छ । विश्वकै पहिलो योगस्तम्भ पनि राइनासकोटमा रहेको छ । ऐतिहासिक राइनासकोट किल्ला, थानीमाई मन्दिर, कालिका, कोटेश्वर महादेवलगायत ऐतिहासिकस्थलसमेत रहेका छन् । नेपालका बाइसेचौबीसे राज्यकालमा लमजुङका राजा यशोबह्मा शाहका कान्छा छोरा द्रव्य शाहले राज्य सञ्चालन गरेर राइनासकोटमा बसेको इतिहास छ ।

जनतासँग स्वास्थ्य कार्यक्रम शुरु

यहाँका नागरिकलाई स्वास्थ्य पहुँचबाट वञ्चित हुन नदिन जनतासँग स्वास्थ्य कार्यक्रम बिहीबारदेखि शुरु गरिएको छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिकाको सहयोगमा वडा नं ४ ले वडाभित्रका नागरिकलाई लक्षित गर्दै जनतासँग स्वास्थ्य कार्यक्रम शुरु गरिएको हो । सो वडाको च्याम्चेमा एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले शुभारम्भ गर्नुहुँदै गाउँपालिका नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै अघि बढिरहेको बताउनुभयो ।

नागरिकको स्वास्थ्यलाई लक्षित गरी सञ्चालन भएको यस कार्यक्रमले नागरिकको स्वास्थ्यमा पहुँच पुग्ने बताउँदै उहाँले पालिकाका अन्य वडामा पनि विस्तारै कार्यक्रम लागू गर्ने जानकारी गराउनुभयो । वडाध्यक्ष सुमन गुरुङका अनुसार ४० वर्षमाथि उमेरका नागरिकलाई सेवा दिने उद्देश्यका साथ उक्त कार्यक्रम शुरुवात गरिएको र वडाका २० टोलमा कार्यक्रम सञ्चालन हुने भएको छ । पहिलो दिनमा सो क्षेत्रका ७० नागरिकको स्वास्थ्य जाँच गरिएको थियो ।