TRENDING

त्रिवि मैदानमा ‘सन्दीप भर्सेस सोमपाल’ले ल्याएको रोमाञ्चकता यस्तो देखियो

काठमाडौं । सन्दीप लामिछाने र सोमपाल कामी वर्तमान नेपाली राष्ट्रिय क्रिकेट टिमा दुई मुख्य बलर हुन् । सन्दीप लेगस्पीनर हुन् भने सोमपाल फास्ट बलर हुन् ।

नेपालको लागि बलरको रुपमा खेल्नुअघि सोमपाल ब्याट्सम्यान थिए । भारतबाट नेपाल आउँदा पनि उनेल सुरुमा ब्याटिङ नै गरेका थिए । अहिले भने सोमपाल विशेषगरी बलरकै भूमिकामा हुन्छन् । राष्ट्रिय टिमका लागि उनले ब्याटिङमा समेत महत्वपूर्ण योगदान गरेका छन् र खेल जिताउन महत्वपूर्ण भूमिका निभाएका छन् ।

नेपालले खेलेको ओडीआई खेलमा दुवैले एकै खेलमा ५ विकेट समेत लिइसकेका छन् ।

राष्ट्रिय टिममा एउटै टिमबाट खेलेका यी दुई खेलाडी घरेलु क्रिकेटमा भने फरक टिमबाट खेल्छन् । अहिले भइरहेको काठमाडौं मेयर्स कप २०७७ क्रिकेटमा सोमबार यी दुईले एक अर्काविरुद्ध खेले ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा त्रिभुवन आर्मी क्लब र काठमाडौं मेयर्स ११ टिमबीच खेल हुँदा ‘सोमपाल कामी भर्सेस सन्दीप लामिछाने’ जस्तै रह्यो ।

पहिलो इनिङ्समा सोमपालले सन्दीपको विकेट लिए । दोस्रो इनिङ्समा सन्दीपले पनि सोमपाललाई आउट गरे । तर सोमपालले उत्कृष्ट ब्याटिङ गर्दै आर्मीलाई जित दिलाए । सन्दीपले काठमाडौंको कप्तानी गरेका थिए । पहिलो खेलमा बागमतीविरुद्ध जित हात पारेको काठमाडौंले प्रतियोगितामा पहिलो हार व्यहोरेको हो ।

सोमपाल र सन्दीपले एक आर्कालाई आउट मात्र गरेनन् रनको वर्षा समेत गरे ।

सन्दीपले सोमपालको बलमा आउट हुनुअघि उनलाई लगातार दुई चौका प्रहार गरेका थिए । ४०औं ओभरको सुरुआती दुई बलमा सन्दीपले सोमपाललाई चौका प्रहार गरे । त्यसपछि सिंगल रन लिए । अन्तिम दुई बलमा सन्दीपले रन जोड्न सकेनन् ।

४२औं ओभरको पहिलो बलमै सोमपालले सन्दीपलाई आउट गरे । सोमपालले कप्तान तथा विकेटकिपर विनोद भण्डारीबाट सन्दीपलाई क्याचआउट गराए । त्यसपछि सोमपालको सेलेब्रेसन पनि हेर्न लायक नै थियो । अन्तिम विकेटको रुपमा आउट भएका सन्दीपले १८ बल खेल्दै २ चौका मद्दतमा १३ रन जोडे ।

सन्दीपले मुलपानीमा पहिलो खेलमा बागमतीविरुद्ध आक्रमक ब्याटिङ गर्दै २० बलमा ६ छक्का मद्दतमा ४२ रन बनाएका थिए । त्रिवि मैदानमा पनि सन्दीपले ब्याटिङमा ठूला सट खेल्ने प्रयास गरेका थिए तर सोमपालले सन्दीपको इनिङ्समा ब्रेक लगाइदिए ।

सोमपालले बलिङमा ६.१ ओभर बलिङ गर्दै १ मेडन राखेर २४ रन खर्चँदै १ विकेट लिए । सोमपालले सन्दीपको मात्र विकेट लिएका थिए ।

दोस्रो इनिङ्समा भने सन्दीप र सोमपालको असली प्रतिस्पर्धा देखियो । सोमपालले सन्दीपको बलमा छक्का चौकाको वर्षा नै गरे ।

आर्मीको लागि सर्वाधिक ८० रन बनाउने क्रममा सोमपालले आक्रमक ब्याटिङ गरेका थिए । १८औं ओभरको अन्तिम बलमा आउट हुनुअघि सोमपालले ५१ बल खेल्दै ९ चौका र ६ छक्का प्रहार गरेका थिए । जसमा सोमपालले सन्दीपलाई मात्र ३ चौका र ४ छक्का प्रहार गरेका थिए ।

सन्दीपले नारायण जोशीबाट सोमपाललाई क्याचआउट गराएका थिए । सोमपालकै ८० रन मद्दतमा आर्मीले काठमाडौंलाई पराजित गर्दै पहिलो जित हात पारेको हो । सन्दीपलाई सोमपालले आउट गरेजस्तै शतकतिर लम्किरहेका सोमपालको इनिङ्समा पनि सन्दीपले ब्रेक लगाएर बदला लिए । तर सोमपालले सन्दीपकै बलिङमा धेरै रन जोडे । सोमपालले आधा अर्थात ४० रन सन्दीपकै बलिङमा प्रहार गरेका थिए ।

खेलपछि सोमपालले सन्दीप उत्कृष्ट बलर भएकोले उसले जतिबेला पनि विकेट लिन खोज्ने बलरको रुपमा रहेको बताए । ‘सन्दीपमा एउटा विकेट लिने हंगर छ । सन्दीपको मेरो बलिङमा हंगर हुन्छ,’ सोमपालले भने ।

सन्दीपविरुद्ध डिफेन्सिभन्दा अट्याकिङ नै खेल्नुपर्ने भएकोले त्यसरी खेलेको सोमपालको भनाइ थियो । ‘मैले सन्दीपलाई डिफेन्सिभ खेले टिमलाई खाइदिन्छ भन्ने थियो । उसले राम्रो विकेट पाएको भए वा पेस बलरले हेल्प गरेको भए एक्लै खेल सकाउन सक्थ्यो । त्यसैले सन्दीपलाई मैले अट्याकिङ नै गर्छु भन्ने थियो । आज मेरो राम्रो दिन थियो । ब्याटमा कनेक्ट भयो र छक्का पनि लाग्यो ।’

‘हिजो सन्दीपले राम्रो ब्याटिङ गर्‍यो बलिङ गर्‍यो अनि जित्यो । आज हामीले राम्रो गर्‍यौँ ,’ सोमपालले भने ।

सन्दीपले खेलपछि चाँडै विकेट लिन खोज्दा आफूले धेरै रन खर्चनुपरेको बताए । ‘विकेट लिन खोज्दा रिस्क त लिनैपर्छ । मैले कति रन गयो भनेर हेरेको थिएन,’ सन्दीपले हाँसदै भने, ‘सोमपालले राम्रो खेल्यो । मिठो कनेक्सन भएको थियो । आज सोमबार भएर पनि सोमपालकै दिन भयो ।’

ओपनर सोमपाल

सोमपालले यस प्रतियोगितामा लगातार दुई खेलमा ओपनिङ गरिसकेका छन् । सोमपालले यसअघि बेला बेला टप अर्डरमा ब्याटिङ गर्ने गरेका थिए । तेस्रो संस्करणको प्रधानमन्त्री कपको फाइनलमा पनि सोमपालले ओपनिङ गरेका थिए ।

भारतबाट नेपाल आउनुअघि उनी बलर भन्दा धेरै ब्याट्सम्यान थिए । नेपाल आएपछि पनि सोमपालले ब्याटिङ नै धेरै गरे । तर नेपाललाई फास्ट बलर चाहिएकोले उनी बलिङतर्फ ढक्लिए ।

यस मेयर्स कपमा सोमपाल आफ्नो पुरानो ब्याटिङ लयमा फर्केका संकेत गरेका छन् ।

उनले एपीएफविरुद्ध पहिलो खेलमा ओपनिङ गर्दै २८ रन बनाएका थिए । एपीएफविरुद्ध सोमपालले ब्याटिङमा केही संघर्ष गरेपनि काठमाडौं विरुद्ध भने खुलेर खेले । एपीएफ विरुद्ध सोमपालले ५३ बल खेल्दा २ चौका र २ छक्का प्रहार गरे ।

अहिलेसम्म दुई खेलमा सोमपालले १०८ रन बनाइसकेका छन् । बलिङमा एपीएफविरुद्ध पनि सोमपालले १ विकेट नै लिएका थिए ।

अहिले मेयर्स कपमा ओपनिङ गर्नुको कारण बारे पनि सोमपालले खुलासा गरे । खासमा आर्मीको ओपनिङ अनिल मण्डल र राजु रिजालले गर्दै आएका थिए । तर उनीहरु प्लेइङ सेटमा पर्ने निश्चित थिएन । प्रधानमन्त्री कपमा आर्मीले लोकेश बमलाई टिममा अनुबन्ध गरेको थियो ।

अनिल र राजु नभएपछि लेकशले ओपनिङ गर्ने पक्का थियो तर उनको पार्टनर फिक्स थिएन । आर्मीले स्पीनर सुशन भारीलाई ओपनिङ गर्ने योजना बनाइरहेको थियो । प्रधानमन्त्री कपमा पनि सुशनले ओपनिङ गरिसकेका थिए । तर यस पटक सोमपालले ओपनिङ गरे ।

‘विनोद दाइले भारीलाई ओपनिङ गराउनु भन्नु भाथ्यो । मेरो ओपनिङ गर्ने खासै प्लान थिएन पहिलो खेल खेल्दासम्म । तर मैले भारी भन्दा म नै ओपनिङ गर्छु । मलाई विकेट थाहा छ । गर्न सक्छु भनेर भनेँ । त्यसमा विनोद दाइले पनि सपोर्ट गर्नुभयो र मले गरेर पनि देखाएँ,’ सोमपालले ओपनिङको कहानी सुनाए ।

‘दाइले खेल्न दिनुभयो र मैले रन पनि हानेर देखाए । विनोद दाईले कन्फिडेन्स दादा पनि सहज भएको हो ।’

सोमपालले टी-१० खेल्न जाँदा ब्याटिङ पनि अभ्यास गरेको र डेभ वाटमोरसँग पनि सल्लाह गरेर ओपनिङ ब्याटिङ गर्ने कुरा भएको सुनाए । यस्तै उनले नेपाललाई १०-१२ खेल जिताएपछि मात्र आफू पूर्ण अलराउण्डर भएको ठान्ने पनि बताए । (अनलाईनखबरबाट)