TRENDING

पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्न पदयात्रा

तनहुँ । तनहुँको भीमाद नगरपालिका–९ मा रहेका पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धन गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले बिहीबार पदयात्रा गरिएको छ । कोभिड–१९ को प्रभावले रोकिएका पर्यटकीय गतिविधिलाई अगाडि बढाउने उद्देश्यले पाथर्दी सामुदायिक घरबास व्यवस्थापन समितिले पदयात्रा सम्पन्न गरेको हो ।

भीमाद–६ स्थित भीमाद बजारबाट शुरु पदयात्रा पाथर्दीमा पुगेर टुङ्गिएको थियो । पदयात्राको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पर्यटनलाई आर्थिक उपार्जनको माध्यम बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यटनबाटै समृद्धि सम्भव रहेकाले प्रदेश सरकारले पनि पर्यटन प्रवर्द्धनका लागि कार्यक्रम बनाएको बताउनुभयो ।

कोभिड–१९ को प्रभावका कारण रोकिएका पर्यटन गतिविधि पुनःसञ्चालन गर्न पदयात्राको आयोजना गरिएको घरबास व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आलेले जानकारी दिनुभयो । पदयात्रामा १५० भन्दा बढीको सहभागिता रहेको थियो ।

“कोभिडले पर्यटनका सबै गतिविधि रोकिए, अब विस्तारै पर्यटनका कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले वडामा भएका पर्यटकीय गन्तव्यको प्रचारका लागि पदयात्रा गरेका हौँ”, उहाँले भन्नुभयो । पदयात्राका क्रममा सोही वडामा रहेको सिद्धगुफाको पनि भ्रमण गरिएको छ । एक सय नयाँ पर्यटकीय गन्तव्यको रूपमा सूचीकृत गुफामा विभिन्न पूर्वाधार निर्माण गरिएको छ । कोभिड–१९ कै समयमा गुफा क्षेत्रमा शौचालय, प्रतीक्षालय र रेलिङ निर्माण गरिएको छ । पूर्वाधार निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु २५ लाख उपलब्ध गराएको थियो ।

पदयात्रामा पुग्ने पदयात्रीलाई सोही ठाउँमा रहेको पाथर्दी सामुदायिक घरबासमा बास बस्ने व्यवस्था मिलाइएको छ । पाथर्दी गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री नमूना वातावरणमैत्री कृषि गाउँ हो ।