TRENDING

नेपालमा पहिलो पटक वन्यजन्तु अस्पताल सञ्चालनमा

काठमाडौं । नेपालमा पहिलो पटक स्थापना भएको वन्यजन्तु अस्पताल सञ्चालनमा आएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्र सौराहा कार्यालयसँगै निर्माण भएको अस्पतालको वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले आज शुभारम्भ गर्नुभयो ।

विभिन्न कारणले रोगी, बिरामी, असहाय, अशक्त, तथा घाइते भएका वन्यजन्तुको उपचार तथा व्यवस्थापनका लागि अस्पतालले उपचार सेवा प्रदान गर्नेछ । बर्दिय राष्ट्रिय निकुञ्जलगायत देशका अन्य भागमा घाइते तथा रोगी भएका वन्यजन्तुलाई अस्पतालमा ल्याएर उपचार गर्ने गरिएको थियो ।

विसं २०७१ समा अस्पताल निर्माण शुरुआत गरिएको थियो । एक वर्षअघि नै निर्माण सम्पन्न भएपनि अस्पतालमा आवश्यक उपकरण तथा औषधि अभावमा सञ्चालनमा आउन सकेको थिएन । अस्पताल निर्माणमा करिब रु तीन करोड ९० लाख ८४ हजार खर्च भएको कोष सौराहाका प्रमुख डा बाबुराम लामिछानेले जानकारी दिनुभयो ।

अस्पताल निर्माण गर्न सरकार, डब्लुडब्लुएफ नेपाल, डेनभर जुको पनि सहयोग प्राप्त भएको थियो । सुविधा सम्पन्न दुई तले भवनबाट वन्यजन्तुको ओपिडी, ल्याब, शल्यक्रिया कक्ष, अफिस, डिस्पेनसरी, कर्मचारी अवास र बैठक कक्ष रहेका छन् । यसअघि वन्यजन्तुलाई उपचार गर्न बहोस बनाउन डाट गर्ने गरिदैँ आइए पनि अब अत्याधुनिक प्रविधिबाट ग्यास प्रयोग गरी वन्यजन्तुलाई असर नपर्ने गरी उपचार गर्न सकिने चिकित्सक जनाएका छन् ।

अस्पताल सञ्चालनका लागि चितवन राष्ट्रिय निकुञ्ज र कोषले संयुक्तरुपमा ‘वन्यजन्तु अस्पताल व्यवस्थापन कार्यविधि २०७७’ तयार गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो । अस्पताल सञ्चालनका लागि निकुञ्जको कार्यालयको भेटेरीनरी शाखका कर्मचार, वन्यजन्तु प्राविधिक र पशुचिकित्सको व्यवस्था गरिएको छ ।