TRENDING

नेकपा नेता एवं सांसद सुरेन्द्र पाण्डे उपस्थित कार्यक्रममा नाराबाजी, यसो भन्छन् सांसद पाण्डे

पूर्वी चितवनमा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पक्षका कार्यकर्ताले नारावाजी र होहल्ला गरेका छन् । राप्ती नगरपालिकाको वीरेन्द्र नगरमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा पाण्डे सहभागी भएका थिए । उनले ‘मदन भण्डारी फाउण्डेसन मार्फत गुटबन्दी भएको बताएपछि युवा संघका केदार आचार्य र अनेरास्ववियूका सुरज थपलिया लगायतले नारावाजी गरेका थिए । ‘पार्टीको कार्यक्रममा गुटबन्दी गर्दै हिँडे चितवनमा उनलाई कुनै पनि कार्यक्रममा बोल्न दिदैनौं’ आचार्यले भने ।

नारावाजीका कारण केहीवेर कार्यक्रम अवरुद्ध भएको थियो ।

प्रस्तुत छ , नेकपा नेता एवं सांसद सुरेन्द्र पाण्डेसँग गरिएको कुराकानी

नेकपा राप्ती नगर कमिटीका अध्यक्ष इमानसिंह लामाले भने केही साथीहरुले कार्यक्रममा आएर उछि्रंखलता देखाएको बताए । ‘उहाँले गुटका कुरा गर्नुभएको थिएन, तर साथीहरु आएर पार्टीको नाममा गुट गर्ने भनेर नारावाजी गर्नुभयो’ लामाले भने, ‘यसो नगरेको भए राम्रो हुन्थ्यो ।’

चितवनमा मेरो निर्वाचन क्षेत्रअन्तरगत पर्ने राप्ती नगरपालिकामा शनिबार पार्टीको नगर कमिटी बैठक आयोजना गरिएको थियो । त्यहाँ मलाई अतिथिका रुपमा निम्त्याइएको थियो । प्रधानमन्त्रीजीकी जनसम्पर्क सल्लाहकार सीता पौडेलकी भाइबुहारी प्रभा बराल यस नगरपालिकाको मेयर हुनुहुन्छ । उहाँ बैठकमा आउँदा ८/१० जना केटाहरु पनि उहाँसँगै आए ।

अरुले आसन ग्रहण गरिरहेका थिए, मेयरलाई वीचमा आसन ग्रहणका लागि नाम लिँदा ती केटाहरुले पर्रर ताली पिटे । उहाँलाई बोल्न उद्घोषकले बोलाउँदा पनि पर्रर ताली पिट्दै थिए । बैठकस्थलमा कानेखुशी पनि गर्दैथिए । यसबाटै उनीहरु किन आएका हुन् भन्ने बुझिन्थ्यो । मैले बैठकको उदघाटन सत्रमा बोल्ने क्रममा पार्टीको कार्यदलले कसरी काम गर्‍यो भन्ने कुराहरु राखें । पुष्पलाल होस् या मदन भण्डारीको नाममा, कुनै पनि फाउन्डेसनहरु नबनाउने, त्यसले पार्टीभित्र गुटबन्दीको आधार बन्यो भन्ने हामी कार्यदलका सबैको सहमति हो भन्ने कुरा मैले राखें । यो कुरा हामीले दस्ताबेजमा लेख्यौं, स्थायी कमिटीले निर्णय गर्‍यो र यो अहिले पार्टीको निर्णय नै भइसक्यो र सबै सदस्यका वीचमा सर्कुलर पुग्या छ । म यिनै कुराहरु भन्दै थिएँ, उनीहरु नारा लगाउन थाले ।

उनीहरुले मदन भण्डारी फाउन्डेसन जिन्दावाद, जबज जिन्दावाद, केपी ओली जिन्दावाद जस्ता नाराहरु लगाए ।

नाराबाजी भएपछि मेयर पनि आत्तिन थाल्नुभयो । उहाँलाई अरु साथीहरुले तिनीहरुलाई ल्याएर यहाँ होहल्ला गराउने भन्दै गरेको सुनेको थिएँ । त्यसपछि उहाँ झन् आत्तिनुभयो । मचाहिँ उनीहरुले हल्ला गरुञ्जेल हाँसेर बसिरहें ।

मेरो भाषण सकिएको थियो । त्यसपछि अध्यक्षले बोल्ने सेसन अन्त्य गर्नुभयो । १ बजे भरतपुरको अर्को कार्यक्रममा जानुपर्ने थियो, हामी त्यहाँबाट हिँड्यौं ।

यसरी नारा लगाउने अगुवा को थिए त भन्दा चितवन जिल्ला कमिटीका पूर्वअध्यक्ष जगन्नाथ थपलियाका छोरा सुरज थपलिया । सुरजका बुबा जगन्नाथजी अहिले वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका सल्लाहकार हुनुहुन्छ ।

नाराबाजीको अगुवाइ गर्ने सुरजका ससुरा दाबा लामा पनि वागमती प्रदेशकै भूमि व्यवस्था सहकारी तथा कृषिमन्त्री हुनुहुन्छ । उनै मन्त्रीका ज्वाइँको अगुवाइमा त्यहाँ नारा लगाउने काम भयो ।

मन्त्री दावाजीकै पीए प्रकाश कालाखेती भन्ने पनि नारा लगाउने समूहमा थिए । दाबाका छोरा पनि त्यहाँ संलग्न रहेको साथीहरुले बताएका छन् । त्यस्तै, केदार आचार्यलाई पनि मैले चिनें । अरु ४/जनालाई मैले देखेर पनि एक/दुईजनाको नाम बिर्सिएँ, अरु तीन/चारजना मैले नचिनेका भर्खरका केटाहरु थिए ।

यो अत्यन्तै गैरराजनीतिक व्यवहार हो । पार्टीको बैठकमा ती नगर कमिटीका सरोकारवाला पनि होइनन् । जगन्नाथको छोरो त अर्को नगरपालिका, खैरहनीको मान्छे हो । राप्ती नगरपालिकाको नगर कमिटीको मान्छे पनि होइन । ऊ त्यहाँको सरोकारवाला मान्छे पनि थिएन ।

यस्तो गैरराजनीतिक व्यवहार गर्नेहरुलाई अनुशासनको कारवाही गर्नुपर्छ । यस्ता मान्छेलाई बोकेर ‘पुस’ गर्ने जुन प्रवृत्ति छ, त्यो पनि गलत कुरा छ । यस्ता व्यक्तिहरुलाई कारवाही गर्नुपर्‍यो । यस्तो प्रवृत्तिलाई प्रोत्साहन गर्नु गलत हो । नेताकै आफन्तहरुलाई त झन् नेताहरुले सम्झाउनुपर्‍यो नि । केपी कमरेडलाई भेट्दाखेरि बा भनेर हातमा ढोग्नेहरु हुन् उनीहरु ।

(अनलाइनखबरसँग कुराकानीमा आधारित)