TRENDING

गाउँमा हुँदा रातभरि देउसी–भैलोमा नाचिन्थ्यो – सबिता खड्का

तिहार मलाई मन पर्ने चाडमध्येको एक हो। म तिहार प्रायः जन्मघर सोलुखुम्बु गएर मनाउने गर्छु। मेरो जीवनमा जम्मा दुई पटक मात्र घरभन्दा टाढा बसेर तिहार मनाएको छु।

एक पटक जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गर्दा बिदा नमिलेर त्यहीं तिहार मनाउनु परेको थियो। अर्को पटक पढाइको सिलसिलाममा काठमाडौंमा तिहार मनाउनु परेको थियो।

जुम्लामा हुँदा त्यहाँ एक जना भाइ बनाएको थिएँ, उसैलाई टीका लगाइदिएँ। त्यो बेलामा मेरो ड्युटी नाइटमा परेको थियो। बिहान टीका लगाइदिएँ र बेलुका ड्युटी गएँ। काठमाडौंमा धेरै जना आफ्न्त दाजुभाइ हुनुहुन्छ। उहाँहरुलाई टीका लगाएर तिहार मनाएको थिएँ। यसपालिको तिहार विशेष कारणले गर्दा काठमाडौंमा नै आफ्न्तसँग मनाउने निर्णय गरेको छु।

तिहारमा फूलको माला बनाएर घर सजाउने, झिलिमिली बत्ति घर वरिपरि बाल्ने र सेल रोटी र अन्य पिठोका परिकार बनाउन निकै मन पर्छ। तिहारमा सबैको घरमा रोटी पकाउने हुँदा गाउँभरि नै रोटीको बास्न आउँछ, जुन मलाई निकै मन पर्छ।

तिहारमा सबैको घरआँगनमा फूल फूल्ने हुँदा गाउँको वातवरण नै अन्य बेलाको भन्दा रमाणीय हुन्छ। त्यो कारणले गर्दा पनि म जहाँ भए पनि तिहार प्रायः गाउँमा नै गएर मनाउने गर्छु।

तिहारमा देउसी–भैलो खेल्न पनि निकै मन पर्छ मलाई। देउसी–भैलो खेल्न एक महिना अगाडिबाट तयारी सुरु गर्थ्यौं। ८/९ मा पढ्ने बेलामा रातभरि देउसी–भैलोमा नाच्ने गरिन्थ्यो।

हाम्रो गाउँमा एउटा क्लब छ। हामीहरु त्यही क्लबबाट टाढाटाढा देउसी–भैलो खेल्न जान्थ्यौं। देउसी–भैलोबाट उठेको पैसाले हामीहरुले गाउँमा सामाजिक कार्य गर्दा चाहिने साम्रगी किन्ने गरेका छौं। बाँकी रकमले हामी सबै परिवार सहित पिकनिक गएर रमाइलो गर्छाैँ।

देउसी–भैलो खेलेर नै हामीले तिहारमा नाच्दा लगाउने कल्चरल ड्रेस किनेका छौँ।

तिहारमा मलाई लक्ष्मीपूजा गर्न निकै मन पर्छ। हामी दुई दिदीबहिनी मिलेर लक्ष्मीपूजा गर्छौँ। फूलका माला बनाएर सबै भाँडामा लगाइदिन, घर वरिपरि ढोकामा माला बनाएर लगाउन, घर सिंगार्न निकै रमाइलो लाग्छ।

(खड्का नेपालको पहिलो मिडवाइफ हुन्।)