TRENDING

एक करोडको लागतमा सनलाइनर र मोहित गाडी सञ्चालनमा

भैरहवा । सिद्धार्थ सार्वजनिक यातायात प्रा.लि. भैरहवाले करिब एक करोडको लागतमा सुविधा सम्पन्न गाडी सञ्चालनमा ल्याएको छ । लुम्बिनी देखि भैरहवा, बुटवल हुँदै काठमाडौँ पुग्ने सनलाइनर र मोहित नामका गाडि सञ्चालनमा आएका हुन् । सनलाइनरका २ ओटा गाडि र मोहितका २ ओटा गाडि रहेका छन्, प्रत्येक गाडिको मूल्य करिब एक करोड लागत परेको सिद्धार्थ सार्वजनिक यातायात प्रा.लि. का अध्यक्ष सञ्जिब रोक्काले बताएका छन् ।

यात्रुहरुलाई सुविधा सम्पन्न बसबाट यात्रा गराउने उद्देश्यले उक्त गाडिहरु भित्राइएको बताउँदै यी गाडिमा यात्रा गर्दा सामाजिक दुरी कायम हुनुका साथै महिला मैत्री सिट रहेका छन् अध्यक्ष रोक्काले भने । ठूलो गाडि भए पनि अहिलेको महामारीका रुपमा फैलिएको कोभिड १९ लाई लक्षित गरि सामाजिक दुरी कायम गरि सिटको व्यवस्था मिलाउँदा जम्मा ३० सिट मात्रै गाडिमा रहेको छ ।

यो गाडि चढ्ने यात्रुले लुम्बिनी देखि काठमाडौँ सम्मको भाडा एक हजार तिर्नु पर्ने छ । महामारिका बेला गाडि जहाँ पायो त्यही रोकि खाना तथा खाजा खुवाउँदा असुरक्षित हुने भएकोले एक हजार भाडा लिए वापत नास्ता, पानी, ५० एम एल को सिनेटाइजर, हाते पञ्जा र माक्स निःशुल्क उपलब्ध गराउने छ ।

गाडिमा सामाजिक दूरी कायम गरि फेम्ली सिट र महिला सिट गरि दुई प्रकारका सिटको व्यवस्था मिलाइएको छ ।